काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
काठमाडाैं | मंसिर २८, २०८१
काठमाडौं: कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो ।
पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।
विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ ।
तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा रु नौ हजार निर्धारण गरिएको छ ।
टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ ।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिनुभयो । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताउनुभयो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताउनुभयो । “टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ”, उहाँले भन्नुभयो ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ ।
काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ ।
त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ ।
साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

